अस्ताउँदो सूर्यको प्रश्नको जवाफ अंग्रेजीमा


सिल्भिया राजोपाध्याय/उज्यालो ।
 काठमाडौं, मंसिर २७ – साहित्य सभ्यताको पहिचान हो र सभ्यताको मापन यसैबाट हुन्छ ।
साहित्यलाई अन्य भाषामा पनि अनुवाद गरियो भने त्यसको महत्व सुनमा सुगन्ध थप भए झैं हुन पुग्छ ।
स्व. केशरलाल श्रेष्ठको शब्दमा अनुवाद साहित्यको महत्व मौलिक साहित्य जति नै छ ।
यसै सन्दर्भमा जनकवि दुर्गालाल श्रेष्ठको नेपाल भाषामा रचित कविताहरुको संग्रह बिनिभालय् ह्वःगु ख्वीप्यफ्वः स्वां (अस्ताउँदो सूर्यमा फुलेका ६४ फूल) को अंग्रेजीमा अनुवाद भइरहेको छ ।
नेपाल भाषामा बोल्न, पढ्न र लेख्न राम्ररी दखल भएका वेष्टर्न ओरेगन विश्वविद्यालयका प्रोफेसर डा. डेभिड हारग्रिभस्ले यो संग्रहमा भएका ६४ कविताको अनुवाद गरि रहनुभएको छ ।
कसरी ६४ फूलको जन्म हुन पुग्यो भन्ने प्रश्नमा जनकवि श्रेष्ठ भन्नुहुन्छ, ‘बिनिभालय् ह्वःगु ख्वीप्यफ्वः स्वां एउटै कथामा आधारित कविता होइन । एकएक कविताको आफ्नै स्वतन्त्र अस्तित्व छ । यो कविताको जन्म एक कारणबाट भएको हो ।
मेरो दाइ बित्नुभएको बेला कौसीमा बसेर हेर्दा अस्ताउँदो सूर्य देखें । उसले मलाई केहि सोधिरहेको जस्तो भान भयो । हरेक प्रश्नको जवाफ दिँदै गएँ, कविताको माध्यमबाट । फलस्वरुप बीनिभालय् ह्वःगु ख्वीप्यफ्वः स्वांको जन्म थाहा नपाइकन हुन गयो ।’
आफैं पनि एक कवि रहेका डा. हारग्रिभस्लाई दुर्गालालको कवितामा मन परेको पक्ष हो, उताको कवितामा नभएको पक्ष छन्द । उनको भनाइमा छन्द र ठेट शब्दहरुको अनुवाद गर्न एकदमै कठिन छ । अनुवादक डा. हारग्रिभस् भन्नुहुन्छ, ‘सन् १९८६ मा नेपाल आउँदा एक कार्यक्रममा दुर्गालालले पढ्नुभएको कविता सुन्न पाएँ । मैले केही बुझिन, तर छन्दले मेरो मन छोयो । अमेरिकामा फर्किएपनि त्यो छन्दले मलाई पछ्याइरह्यो । फेरि २०१० मा नेपाल आएँ । भोटाहिटीमा गएर उक्त किताव खोज्न थालें । भेट्टाएँ पनि । पढ्न थालें, तर राम्ररी बुझ्न सकिन । एकजना साथीको सहयोगले मैले बुझ्न थालें । छन्दमा चित्रित गरिएको विषयवस्तुले गर्दा मैले अंग्रेजीमा अनुवाद गर्ने निधो गरें । डा. हारग्रिभस्को शब्दमा अनुवाद साहित्यको महत्व एकदमै छ । अनुवाद भयो कि नेपाल भाषाको साहित्यको उचाई अरुले थाहा पाउँछन् । नेपाल भाषाको साहित्य अन्य भाषाका साहित्य भन्दा कम छैन र नेपाल भाषाको साहित्य संस्कृति कति पुरानो छ भनेर धेरैलाई थाहा छैन त्यसैले अनुवाद भयो भने व्यापक हुन सक्छ ।
यस भन्दा अघि पनि धेरै नै नेपाल भाषाको साहित्यिक कृति अंग्रेजीमा अनुवाद भइसकेको स्थिति छ । अंग्रेजी अनुवाद गर्ने क्षेत्रमा अगाडि आउने नामहरु स्व. केशर लाल श्रेष्ठ, माधवलाल कर्माचार्य, प्राडा तेजरत्न कंसाकार, तीर्थराज तुलाधर, प्राडा डेभिड गेल्नर, प्राडा टड लेविस, सूवर्ण मान तुलाधार, सिल्भिया राजोपाध्याय्, राजेन्द्र शाक्य, राजेन्द्र मानन्धर हुन् ।
सिल्भिया राजोपाध्यायले अंग्रेजीमा अनुवाद गर्नुभएको माधव मूलको कवितालाई सन् २००० मा इन्टरनेशनल लाइब्रेरी अफ पोएट्ले पोएटस् एडिर्टर च्वाइस अवार्ड प्रदान गरेको थियो भने सोही अनुवादित कवितालाई इन्टरनेशनल सोसाइटी अफ पोएट्सले सन् २००२ मा इन्टरनेशनल पोएटस् अफ मेरिट अवार्ड प्रदान गरेको थियो ।

0 comments:

Post a Comment